२९ चैत, काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा बदलीको अवस्था रहे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा देखिएको छ।
आज आइतबारको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै देशका अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिएको छ। कोशीको तराई र अन्य पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी तराईका क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार आज केही स्थानमा वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ। यस्तै, गण्डकीका पहाडी भू-भाग र अन्य केही हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको मौसमविद्हरूले बताएका छन् ।
विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पहाडी भेगमा हुने वर्षा र तराईमा चल्ने हावाहुरीले जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले यात्रा र कृषि कर्म गर्दा सजग रहन सुझाव दिइएको छ।

















