२९ चैत, काठमाडौँ । कैलालीको कैलारी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा परी एक जना युवकको ज्यान गएको छ । हुलाकी राजमार्ग अन्तर्गत कैलारी गाउँपालिका-१ मा बोलेरो पिकअप जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा धनगढीका २२ वर्षीय युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बोलेरो पिकअप र त्यसका चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप कानुनी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

















