Logo

२९ चैत, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुवाती आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तर बैंक कारोबारमा निकै ठूलो गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा कुल ७ खर्ब ४३ अर्ब ८६ करोड रुपैयाँ बराबरको मात्रै अन्तर बैंक कारोबार भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो आँकडा निकै न्यून हो, जसले वित्तीय बजारमा तरलताको अवस्था र बैंकहरूको ऋण प्रवाहको प्रवृत्तिमा आएको फेरबदललाई संकेत गरेको छ ।

कुल कारोबारमध्ये वाणिज्य बैंकहरूले मात्रै ६ खर्ब २९ अर्ब ७१ करोड रुपैयाँको कारोबार गरेका छन् भने अन्य वित्तीय संस्थाहरू ९वाणिज्य बैंकबाहेक० को अन्तर बैंक कारोबार १ खर्ब १४ अर्ब १५ करोडमा सीमित भएको छ ।

गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा अन्तर बैंक कारोबारको यो गिरावट निकै ठूलो देखिन्छ । अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो ।

यसरी एक वर्षको अन्तरालमा अन्तर बैंक कारोबार करिब साढे ५ खर्ब रुपैयाँले घट्नुलाई अर्थविद्हरूले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र बैंकहरूले आपसमा रकम सापटी लिनुपर्ने आवश्यकता कम भएको रूपमा विश्लेषण गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कले बैंकहरूबीचको वित्तीय निर्भरता घट्दै गएको र बजारमा अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर समेत प्रभावित भइरहेको देखाउँछ । यसले समग्र अर्थतन्त्रमा कर्जाको माग र लगानीको वातावरण कस्तो छ भन्नेबारे नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार