२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका भरपर्दा अलराउन्डर तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान) ले कडा अनुशासनको कारबाही गरेको छ ।
जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएपछि क्यानले उनलाई एक खेलको प्रतिबन्धसँगै सो खेलको शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको हो । क्यान प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा करणले व्यक्त गरेको धारणा खेल भावनाविपरीत रहेको र यसले अनुशासनको उल्लंघन गरेको ठहर गर्दै सरोकारवालाहरूको समन्वयमा यो कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।
घटनाको गम्भीरतालाई बुझ्दै क्रिकेटर करण केसीले शनिबार नै सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गरिसकेका थिए। उनले आफूले …खेलाडी र अम्पायरबीच हातपात भए के होलाÚ भनी एउटा जिज्ञासा मात्र राखेको र त्यसलाई मजाकको रूपमा बुझिदिन आग्रह गर्दै कसैको चित्त दुखेको भए माफी चाहेको स्पष्ट पारेका थिए ।
क्रिकेटमा अम्पायर, प्रशिक्षक र खेलाडी एउटै परिवारको सदस्य भएको भन्दै उनले आफ्नो भनाइलाई लिएर भएको विवादप्रति खेद प्रकट गरे पनि क्यानले भने अनुशासनको नियममा सम्झौता नगर्ने नीतिअनुसार यो कारबाहीलाई निरन्तरता दिएको हो ।
यस कारबाहीले प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबको आगामी रणनीतिलाई केही हदसम्म प्रभावित पार्ने देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै खेलाडीहरूले सार्वजनिक मञ्चमा राख्ने धारणा र त्यसले खेलको गरिमामा पार्ने प्रभावका विषयमा यो घटनाले पुनः एकपटक बहस सिर्जना गरेको छ ।
क्यानले खेलाडीहरूलाई मर्यादित र अनुशासित रहन सचेत गराउँदै आएको सन्दर्भमा वरिष्ठ खेलाडी नै कारबाहीमा परेपछि यसलाई क्रिकेट वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

















