Logo

२९ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यका साथ पाकिस्तानको मध्यस्थतामा सुरु भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता अन्ततः असफल भएको छ ।

२१ घण्टासम्म चलेको सघन र कठिन संवाद निष्कर्षविहीन भएपछि इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफ नेतृत्वको प्रतिनिधिमण्डल आइतबार बिहान इस्लामाबादबाट स्वदेश फर्किएको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोलीले पनि सहमति हुन नसकेको घोषणा गर्दै वासिङ्टनतर्फ प्रस्थान गरिसकेको थियो । दुवै पक्षबीचको अडान र कडा सर्तहरूका कारण ऐतिहासिक सम्झौताको आशा गरिएको यो वार्ता बिनाकुनै परिणाम टुङ्गिएको हो ।

वार्ता विफल हुनुको मुख्य कारण दुवै देशका आ–आफ्नै सर्तहरू रहेको देखिएको छ । अमेरिकी उपराष्ट्रपति भान्सले इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता नजनाएका कारण सम्झौता हुन नसकेको बताउनुभयो । उहाँले सम्झौता नहुनु इरानका लागि ठूलो क्षति भएको टिप्पणी समेत गर्नुभयो ।

र्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले अमेरिकाले तेर्स्याएका सर्तहरू निकै कडा र अन्यायपूर्ण भएकाले सहमति हुन नसकेको दाबी गरेका छन् । विशेष गरी दुई साताको युद्धविरामका बावजुद इजरायलले लेबननमा आक्रमण जारी राखेपछि इरान वार्ताको टेबुलमा बस्नुअघि नै रुष्ट बनेको थियो ।

क्षेत्रीय तनावको यस जटिल घडीमा पाकिस्तानले भने अझै पनि मध्यस्थकर्ताको भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसाक दारले पत्रकार सम्मेलन गर्दै आफू र सेना प्रमुख असिम मुनिरले दुई पक्षबीचको खाडल पुर्न निकै प्रयास गरेको जानकारी दिनुभयो ।

वार्ता तत्कालका लागि टुङ्गिए पनि दिगो शान्ति र समृद्धिका लागि दुवै देश सकारात्मक भावनाका साथ पुनः संवादमा आउने विश्वास पाकिस्तानले लिएको छ । फेब्रुअरीको अन्त्यमा इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा इरानी शीर्ष नेताहरूको मृत्यु भएपछि सुरु भएको यो द्वन्द्वले अहिले मध्यपूर्वमा भयानक सुरक्षा संकट निम्त्याएको छ ।


सम्बन्धित समाचार