Logo

२९ चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देश र जनताको हितलाई सर्वोपरि राख्दै आफूले पूर्ण रूपमा तटस्थ रहेर संसदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले कानुन निर्माण र त्यसको कार्यान्वयनको प्रक्रियामा आफू निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो । सभामुख अर्यालले नयाँ कानुनहरूको निर्माण तथा आवश्यकताअनुसार संविधान संशोधनको प्रक्रियामा सहजकर्ताको रूपमा सक्रिय रहने र यसो गर्दा संसद्को गरिमालाई उच्च राख्ने स्पष्ट पार्नुभयो ।

जनताले विकास, समृद्धि र खुसीको प्रतिफल प्राप्त गर्न एक दिन पनि ढिलाइ हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सभामुख अर्यालले सार्वजनिक सरोकारका कानुनहरूलाई ‘फास्ट ट्रयाक’ बाट टुङ्ग्याउन विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले राज्यका संयन्त्रहरूलाई जनमुखी बनाउन र संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आफ्नो भूमिका सदैव निष्पक्ष रहने विश्वास दिलाउनुभएको छ । जनताको प्रत्यक्ष लाभसँग जोडिएका ऐन निर्माणमा सबै राजनीतिक दलहरूसँग समन्वय गरी अघि बढ्ने उहाँको योजना रहेको छ ।

साथै, सभामुख अर्यालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनाको कार्यान्वयनमा ढिलाइ भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । उक्त आयोजनालाई सफल बनाउन र निर्धारित समयमै सम्पन्न गर्नका लागि सरकारलाई निरन्तर झक्झक्याउने र आवश्यक निर्देशन दिने कार्यमा आफू पछि नहट्ने उहाँले बताउनुभयो ।

धादिङको मलेखुमा आयोजित सो कार्यक्रममा उहाँले पत्रकारहरूसँगको संवादमा प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिताको महत्त्वमाथि पनि प्रकाश पार्नुभएको थियो ।


सम्बन्धित समाचार