२९ चैत, काठमाडौं । सन् १९३३ सेप्टेम्बर ८ मा सांगीतिक विरासत बोकेको परिवारमा जन्मिएकी आशा भोसलेको बाल्यकाल सुखद रहेन । ९ वर्षको कलिलो उमेरमा बुबा पण्डित दीनानाथ मंगेशकरलाई गुमाएपछि उनको परिवारमा आर्थिक संकट आइपर्यो ।
परिवार पाल्नकै लागि उनी र दिदी लता मंगेशकरले सानै उमेरमा फिल्ममा गाउन र अभिनय गर्न सुरु गरे। उनले सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट आफ्नो गायन यात्राको श्रीगणेश गरिन्।
चुनौतीपूर्ण करियर र सफलताको सिँढी
त्यस समयको सांगीतिक बजारमा लता मंगेशकर, गीता दत्त र शमशाद बेगम जस्ता स्थापित गायिकाहरूको दबदबा थियो । यस्तो कडा प्रतिस्पर्धाका बीच आफ्नो छुट्टै पहिचान बनाउन आशाले निकै संघर्ष गर्नुपर्यो । सुरुमा उनले कम बजेटका फिल्महरूमा अवसर पाइन्, तर ‘संगदिल, ‘परिणीता र बूट पोलिस’ जस्ता फिल्महरूले उनको स्वरको जादु मानिसहरूमाझ पुर्यायो । उनको स्वरमा भएको विविधताकै कारण उनले गजल, पप, र क्याबरे जस्ता फरक शैलीका गीतहरूमा पनि उत्तिकै कुशलता देखाइन् ।
व्यक्तिगत जीवनका उथलपुथल
आशाको व्यक्तिगत जीवन निकै उतारचढावले भरिएको रह्यो । मात्र १६ वर्षको उमेरमा आफूभन्दा २० वर्ष जेठा गणपत राव भोसलेसँग प्रेम विवाह गर्दा उनले परिवारको चर्को विरोध र दिदी लतासँगको दूरी सहनुपर्यो । तर, त्यो वैवाहिक जीवन सुखद रहेन र ११ वर्षपछि उनी तीन सन्तानसहित छुट्टिइन् । पछि उनको जीवनमा संगीतकार आरडी बर्मनको आगमन भयो ।
सन् १९८० मा उनीहरूको विवाह भयो, जसले भारतीय संगीतलाई अनगिन्ती सदाबहार गीतहरू प्रदान गर्यो। आरडी बर्मनको निधनसम्म यो सांगीतिक र वैयक्तिक जोडी अटुट रह्यो ।
अभूतपूर्व उपलब्धि र विरासत
पाँच दशक लामो सांगीतिक यात्रामा आशाले २० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाइन् । ‘ग्रामी अवार्ड’ का लागि नामाङ्कित हुने पहिलो भारतीय गायिका बनेकी उनले पद्म विभूषण र दादा साहेब फाल्के जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिन् ।
९२ वर्षको उमेरमा यो संसारबाट बिदा भए पनि ‘अभी ना जाओ छोडकर’ जस्ता उनका हजारौँ धुनहरूले उनलाई संगीतप्रेमीहरूको मुटुमा सधैं जीवित राख्नेछन् ।

















