२९ चैत,धनुषा । गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
शनिबार नदीमा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड आइतबार मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घटनापछि खोजी कार्यका लागि सशस्त्र प्रहरी सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीको टोली परिचालन गरिएको थियो। प्रारम्भिक खोजीमा सफलता नपाएपछि सशस्त्र प्रहरीको विशेष गोताखोर टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
गोताखोर टोलीले नदीको गहिराइबाट युवकको शव निकालेर बाहिर ल्याएको हो।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















