Logo

२९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ४ गतेको मिति तय गरेको छ ।

पार्टीका सहमहामन्त्री एवं निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ का अनुसार निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका भने वैशाख २ गते सार्वजनिक गरिनेछ । नयाँ राजनीतिक परिस्थिति र संसद्को प्रभावकारिताका लागि दलको नेता चयन प्रक्रियालाई तीव्रता दिँदै कांग्रेसले निर्वाचनको तयारी अघि बढाएको हो ।

संसदीय दलको नेतृत्व चयनका लागि पार्टीभित्र सहमतिको प्रयासलाई पहिलो प्राथमिकता दिइएको निर्वाचन समितिले जनाएको छ । संयोजक रसाइलीले नेतृत्व चयनका लागि शीर्ष तहमा छलफल भइरहेको र सहमतिको सम्भावना अझै जीवितै रहेको बताउनुभयो ।

यद्यपि, लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन प्रक्रियाको तयारीलाई पनि सँगसँगै अगाडि बढाइने उहाँको भनाइ छ । यदि एउटा मात्र उम्मेदवारी परेको खण्डमा सर्वसम्मत रूपमा नेता चयन गरिनेछ भने एकाधिक उम्मेदवार भएको अवस्थामा वैशाख ४ गते मतदानमार्फत नेतृत्वको टुङ्गो लगाइनेछ ।

प्रतिपक्षी दलको नेताका लागि पार्टीभित्र आकांक्षीहरूको दौडधुप समेत सुरु भइसकेको छ । अहिलेको अवस्थामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायतका सांसदहरूले नेतृत्वका लागि चासो देखाउँदै आ(आफ्नो पक्षमा माहोल बनाउन कसरत गरिरहेका छन् ।

संसदीय दलको नेता नै संसद्मा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहने भएकाले पनि यस निर्वाचनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । पार्टी नेतृत्वले सर्वसम्मतिको प्रयास गरिरहँदा आकांक्षीहरूबीचको समीकरणले अन्तिम परिणाम कस्तो आउला भन्ने विषयले कांग्रेसभित्रको आन्तरिक राजनीतिलाई थप तातेको छ ।


सम्बन्धित समाचार