Logo

२९ चैत,वीरगञ्ज ।  वीरगञ्जमा कुखुरा फर्मका एक कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवानलाई नियन्त्रणमा लिइएको हो। परवानीपुर प्रहरी चौकी नजिकै रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालकसमेत रहेका देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय कामदार नुर आलम देवानलाई कुटपिट गरेको आरोप छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सञ्चालकले कामदारलाई कुखुरा चोरी गरी बिक्री गरेको आरोप लगाउँदै लठ्ठीले निर्घात कुटपिट गरेको देखिएको छ। भिडियो भाइरल भएपछि घटनाको व्यापक आलोचना भएको छ।

घटनालाई मानव अधिकार उल्लंघनको रूपमा उल्लेख गर्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार