Logo

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायहरूमा प्रचलित परम्परागत ‘पिर्के सलामी’ नलिने घोषणा गर्नुभएको छ ।

आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुग्नुभएका मन्त्री गुरुङले आफूलाई स्वागत गर्न तयार पारिएको विशेष सलामीको आसन (पिर्का) अस्वीकार गर्दै यस्तो तामझामपूर्ण परम्पराको अन्त्य गर्ने निर्णय सुनाउनुभएको हो । सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गृहमन्त्रीले सुरक्षा निकायले देखावटी औपचारिकताभन्दा जनताको सेवा र शान्ति सुरक्षाको जिम्मेवारीलाई प्राथमिकतमा राख्नुपर्नेमा जोड दिनुभयो ।

नवलपुर बसाइका क्रममा गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, जिल्ला प्रहरी प्रमुख एसपी युवराज खड्का र राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहसँग जिल्लाको सुरक्षा अवस्थाबारे सघन छलफल गर्नुभयो । सो अवसरमा उहाँले जिल्लाभित्र रहेका सुरक्षा जोखिम, अपराध नियन्त्रणका चुनौती र नागरिकको जीउधनको सुरक्षाका लागि अपनाउनुपर्ने रणनीतिक योजनाबारे विस्तृत जानकारी लिनुभएको थियो ।

मन्त्री गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारीहरूलाई निष्पक्ष र प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न समेत कडा निर्देशन दिनुभयो । शनिबार पृथ्वी राजमार्गको सडक अवस्थाको स्थलगत निरीक्षण गर्दै चितवन पुग्नुभएका गृहमन्त्रीले आज बिहानै त्यहाँका गृह प्रशासनका कर्मचारीहरूसँग सुरक्षा ब्रिफिङ लिनुभएको थियो ।

चितवनको छलफल सकाएर नवलपुर पुग्नुभएका उहाँको यो सक्रियतालाई गृह प्रशासनमा सुधारको सङ्केतका रूपमा हेरिएको छ । विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूले लिने सलामीका विषयमा समयसमयमा जनस्तरबाट आलोचना हुने गरेको सन्दर्भमा, गृहमन्त्री गुरुङको यो पछिल्लो निर्णय र सादगीपूर्ण कार्यशैलीले सकारात्मक सन्देश प्रवाह गरेको चर्चा सुरु भएको छ ।


सम्बन्धित समाचार