Logo

२९ चैत,वीरगञ्ज । गण्डक नहर क्षेत्रमा रहेका अधिकांश पुलहरू जीर्ण अवस्थामा पुगेका छन्, जसका कारण सर्वसाधारणले जोखिम मोलेर सवारी सञ्चालन गर्न बाध्य भएका छन्। करिब ८१ किलोमिटर लामो नहरमा साना–ठूला गरी ३ हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्ट रहेका छन्, तर लामो समयदेखि मर्मत अभाव हुँदा ती संरचनाहरू कमजोर बनेका छन्।

नारायणी सिंचाइ व्यवस्थापन डिभिजन वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सुरेश साहका अनुसार नदी कटान र संरचनाहरू पुराना हुनु मुख्य समस्या हो। बजेट अभावका कारण मर्मत तथा नयाँ निर्माण कार्य गर्न नसकिएको उनले बताए। उनका अनुसार ती संरचनाहरू मुख्यतः हलुका सवारीका लागि निर्माण गरिएका भए पनि अहिले बस, ट्रक, ट्याक्टर र टिपरजस्ता भारी सवारी चल्दा दुर्घटनाको जोखिम बढेको छ।

दुई वर्षअघि तिलावे नदीस्थित पुलको एक पिलर भासिएको थियो। १३ पिलरमध्ये एकमा चिरा परेर क्षति पुगेपछि थप जोखिम बढेको हो। प्राविधिकहरूका अनुसार पुलमा थप क्षति भए गण्डक नहरको साइफनमा असर पर्न सक्छ, जसले सम्पूर्ण नहर प्रणाली अवरुद्ध हुन सक्ने खतरा छ।

वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिका जोड्ने सो पुल भासिएपछि आवतजावतमा समस्या देखिएको छ। सवारीसाधन सञ्चालनमा रोक लगाए पनि स्थानीयले साइकल र मोटरसाइकलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन्। चारपांग्रे सवारीसाधन भने ‘डाइभर्सन’ बाट चलिरहेका छन्। नहर किनारको सडक कालोपत्रे भएपछि यस मार्ग प्रयोग गर्नेको संख्या अझै बढेको छ।

सहज आवागमनका लागि तिलावेमा बेलिब्रिज जडानको काम भइरहेको भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण प्रगति सन्तोषजनक छैन। हालसम्म करिब ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालयअन्तर्गत ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रा.ली.ले करिब २ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको हो। यसमा पुलका दुवै छेउका संरचना, तटबन्ध तथा नदी नियन्त्रणका काम पनि समावेश छन्। सम्झौता अनुसार काम ०८३ जेठ १ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि ढिलाइले समयमै सकिनेमा आशंका बढेको छ।

कार्यालय प्रमुख मनोज कुमार साहले कामको गुणस्तर ठीक भए पनि प्रगति कमजोर रहेको बताए। समयमै काम नसके निर्माण कम्पनीलाई कानुनी कारबाही र जरिवाना गरिने चेतावनी उनले दिएका छन्। वर्षायाम सुरु भएपछि काम गर्न झन् कठिन हुने भन्दै उनले निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन्।

यसअघि बजेट सुनिश्चित नभए पनि विशेष परिस्थितिमा ठेक्का आह्वान गरिएको थियो। तर अर्थ मन्त्रालयबाट बजेट नआएपछि प्रारम्भिक ठेक्का रद्द भएको थियो।

निर्माण कम्पनीका साइट इन्जिनियर मनोजकुमार मण्डलका अनुसार सुरुमा जग्गा विवादका कारण केही समय काम रोकिएको थियो। अहिले भने संरचनाको अधिकांश काम सम्पन्न भइसकेको छ र फिलिङ तथा बेस तयार गर्ने काम भइरहेको छ। उनका अनुसार संरचना तयार भएपछि १५–२० दिनभित्र ब्रिज जडान गर्न सकिनेछ।

हाल दैनिक २२–२५ जना कामदार खटाइए पनि निर्माण सामग्री, विशेषगरी बोल्डर आपूर्तिमा समस्या रहेको उनले बताए। तेल अभावका कारण मूल्य बढ्ने आशंकाले सप्लायर्सले पर्याप्त सामग्री उपलब्ध गराउन नसकेको उनको भनाइ छ।


सम्बन्धित समाचार