३० चैत,वीरगञ्ज । बारा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बारा का अनुसार जिल्लाका सबै विद्यालयमा अध्यापन हुने विषयहरूको उत्तरपुस्तिका परीक्षण जिल्लामै गरिएको हो।
इकाइका निमित्त प्रमुख अशोक कुमार रौनियार ले परीक्षण सम्पन्न भइसकेका उत्तरपुस्तिकाको नतिजा प्रमाणीकरण गरी आजै राष्ट्रिय परीक्षा बोर्ड मा बुझाइने जानकारी दिएका छन्।
यसअघि सुमन्त पोखरेल ले एसईई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था लागू गरेपछि काम तीव्र गतिमा अघि बढाइएको हो।
यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३७७ जना परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै, २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९३३ जना तथा २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन्। प्राविधिक धारतर्फ नियमित ३७५ र ग्रेड वृद्धितर्फ ६३ गरी कुल ४३८ जना विद्यार्थीले परीक्षा दिएका छन्।
जिल्लाभरबाट कुल १० हजार ८१३ जना परीक्षार्थी सहभागी भएको यस वर्षको परीक्षामा बाराका १०२ सामुदायिक र ५३ संस्थागत विद्यालय समेटिएका छन्।
सम्बन्धित निकायका अनुसार अब छिट्टै नतिजा सार्वजनिक हुने तयारी गरिएको छ।

















