Logo

३० चैत, काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताको विषयलाई लिएर आन्तरिक कलह सतहमा आएका बेला नेता पूर्णबहादुर खड्काले कडा प्रतिक्रिया दिँदै यसलाई खारेज गर्ने अधिकार कसैसँग नभएको स्पष्ट पारेका छन् ।

सोमबार कार्यवाहक सभापतिको हैसियतमा एक विज्ञप्ति जारी गर्दै खड्काले महाधिवेशनको वैधानिक व्यवस्थाबिना कसैले पनि सदस्यहरूको क्रियाशील सदस्यता खोस्न नसक्ने अडान व्यक्त गरेका हुन् ।

उनले कांग्रेसको क्रियाशील सदस्यता केवल पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई, यो पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको र कार्यकर्ताको दशकौँ लामो योगदानको निस्सा भएको उल्लेख गर्दै यसमाथि खेलबाड नगर्न चेतावनी दिएका छन् ।

पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला अर्को पक्षले महाधिवेशनको घोषणा गर्नुलाई उनले ‘वदनियतपूर्ण’ कदमको संज्ञा दिएका छन् । विशेषगरी २०८३ वैशाखमा हुने तय भएको १५ औँ महाधिवेशनको कार्यतालिकाभित्र वितरण र नवीकरण भएका सदस्यताहरूलाई खारेज गरेर फेरि अद्यावधिक गर्नेहरूले मात्र भाग लिन पाउने भन्नु सरासर अवैधानिक र पूर्वाग्रही रहेको खड्काको तर्क छ ।

सदस्यता खारेजीको चर्चाले पार्टी पंक्तिमा अन्योल सिर्जना गरेपछि महामन्त्री प्रदीप पौडेलले भने यसलाई ‘खारेजी’ नभई ‘अद्यावधिक’ मात्र गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका छन् । तर, पुरानो सदस्यता खारेज गरेर नयाँ बनाउने चर्चाले कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच नयाँ ध्रुवीकरण र तिक्तता पैदा गरिदिएको छ ।


सम्बन्धित समाचार