३० चैत,काठमाडौं । युरोपेली देश हङ्गेरी मा १६ वर्षदेखि सत्तामा रहँदै आउनुभएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित भएका छन्। मतदाताहरूले अधिनायकवादी शैली र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै नयाँ युरोप समर्थक नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै परिवर्तन हुने संकेत देखिएको छ।
ओर्बनका पूर्व सहयोगीसमेत रहेका पिटर मग्यार ले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार तथा युरोपेली सङ्घ (EU) र नाटोसँग सम्बन्ध पुनःस्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जित हासिल गरेका छन्। प्रारम्भिक मतगणनाअनुसार उनको टिस्जा पार्टीले करिब ५३ प्रतिशत मत प्राप्त गर्दा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित भएको छ।
एक सय छ निर्वाचन क्षेत्रमध्ये ९४ मा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बनेका छन्। पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भन्दै अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताएका छन्।
ओर्बनलाई लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन का निकट सहयोगीका रूपमा चिनिँदै आएको थियो। यसका कारण हङ्गेरीको विदेश नीति युरोपभित्र विवादित रहँदै आएको थियो।
मग्यारको विजयपछि युरोपेली सङ्घ (EU) भित्र शक्ति सन्तुलनमा परिवर्तन आउने अपेक्षा गरिएको छ। ओर्बनमाथि EU का निर्णय अवरुद्ध गर्ने र रूससँग नजिकिँदै गएको आरोप पनि लाग्दै आएको थियो, विशेषगरी युक्रेन युद्धपछि उनको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो।
निर्वाचनपछि बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ। डेन्युब नदी किनारमा हजारौँ समर्थकहरूले विजय उत्सव मनाएका छन्। “आज सत्यले झुटमाथि जित हासिल गरेको छ,” मग्यारले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “हामीले आफ्नो देशका लागि जिम्मेवारी बुझेका छौँ।”
करिब ८० प्रतिशत मतदान भएको यो निर्वाचन हङ्गेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ। अब नयाँ नेतृत्वले हङ्गेरीलाई पुनः युरोपतर्फ फर्काउने वा राजनीतिक विभाजन कायम रहने भन्ने विषय मुख्य चुनौतीका रूपमा देखिएको छ।


















