Logo

३० चैत, काठमाडौं । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार संसदीय मर्यादा र अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले एक महत्त्वपूर्ण संवाद भएको छ ।

नवनियुक्त सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरी संघीय संसद्को प्रभावकारी सञ्चालनका विषयमा घनीभूत छलफल गर्नुभएको हो । नयाँ सरकार गठन र बदलिएको राजनीतिक परिवेशमा संसद्लाई कसरी जनमुखी र परिणाममुखी बनाउन सकिन्छ भन्ने विषयमा सभामुख अर्यालले पूर्वसभामुखहरूका अनुभव र सुझावहरू सुन्नुभएको थियो ।

भेटका क्रममा नेपालको संसदीय इतिहास, विगतमा सामना गरिएका चुनौतीहरू र विधायन प्रक्रियालाई अझ बढी परिष्कृत बनाउने उपायहरूका बारेमा विचारविमर्श भएको सचिवालयले जनाएको छ । पूर्वसभामुखद्वय घिमिरे र सापकोटाले संसद्को गरिमा कायम राख्न र दलहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न सभामुख अर्याललाई सुझाव दिनुभएको थियो ।

संसदीय लोकतन्त्रलाई बलियो बनाउन पूर्वअनुभवहरूको आदानप्रदान अपरिहार्य रहेको भन्दै सभामुख अर्यालले आगामी दिनमा पनि यस्ता परामर्शलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार