Logo

३० चैत,वीरगञ्ज ।  मधेस प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल मा पछिल्लो समय सेवा प्रवाह, व्यवस्थापन, सरसफाइ तथा चिकित्सकीय अनुशासनमा सुधार देखिन थालेको छ। अस्पताल प्रशासन र सेवाग्राही दुवैले सुधारको संकेत देखिएको दाबी गरेका छन्।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरञ्जन साह का अनुसार चिकित्सक, नर्स, प्राविधिक तथा सफाइ कर्मचारीको कार्यशैलीमा स्पष्ट परिवर्तन आएको छ। यसले ओपीडी सेवा व्यवस्थित भएको र बिरामी व्यवस्थापन सहज बनेको उनको भनाइ छ।

पहिले चिकित्सकहरू समयमा उपस्थित नहुने, बीचमै निजी क्लिनिक जाने तथा सेवा अवरुद्ध हुने जस्ता गुनासो व्यापक थिए। तर अहिले कडाइका साथ निगरानी र उपस्थिति व्यवस्थापन लागू गरिएपछि चिकित्सकहरू पूरा समय अस्पतालमै रहने व्यवस्था भएको अस्पताल प्रशासनले जनाएको छ।

करिब चार सयभन्दा बढी कर्मचारी कार्यरत रहेको अस्पतालमा हाजिरी प्रणाली कडाइ, जिम्मेवारी बाँडफाँड स्पष्टता र नियमित अनुगमनले सुधारमा योगदान पुर्‍याएको बताइएको छ। सरसफाइमा पनि उल्लेखनीय सुधार आएको र वार्ड तथा ओपीडी क्षेत्रको वातावरण पहिलेभन्दा व्यवस्थित बनेको सेवाग्राहीहरूको अनुभव छ।

दैनिक करिब १२ सय बिरामी आउने ओपीडी सेवामा पहिलेको तुलनामा सेवा प्रवाह छिटो र व्यवस्थित भएको अस्पतालको दाबी छ। रिपोर्ट ढिलाइ, औषधि वितरण र परीक्षण प्रक्रियामा समेत सुधार आएको बताइएको छ।

त्यस्तै, प्रसूति सेवा र प्रयोगशाला सेवामा पनि सुधार देखिएको जनाइएको छ। आपत्कालीन सेवा, उपकरण व्यवस्थापन र कर्मचारी उपस्थितिमा सुधार गर्दै जोखिम घटाउने प्रयास भइरहेको छ।

यसअघि बिरामीलाई निजी क्लिनिकतर्फ पठाउने र कमिशन लिने जस्ता आरोपहरूसमेत लाग्दै आएका थिए। हाल त्यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी प्रणाली कडाइ गरिएको अस्पताल प्रशासनको भनाइ छ।

सूचना अधिकारी डा. उदयनारायण सिंह का अनुसार सेवामा ‘आमूल सुधार’को अनुभूति सेवाग्राहीहरूले गर्न थालेका छन्। उनले सुधार निरन्तर रहे नारायणी अस्पताल फेरि मधेस प्रदेशकै प्रमुख र भरोसायोग्य स्वास्थ्य संस्थाका रूपमा स्थापित हुन सक्ने बताए।

यद्यपि सेवाग्राहीहरूले भने सुधारलाई दीर्घकालीन बनाउन निरन्तर अनुगमन, पारदर्शिता र कर्मचारी जिम्मेवारीबोध आवश्यक रहेको बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै