३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिको मिहिन विश्लेषण समेटिएको विशेष प्रतिवेदन सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार पारिएको यस तथ्याङ्कले नेपाली घरजग्गा बजारमा सुधारको संकेतसँगै स्पष्ट मौसमी उतारचढाव रहेको देखाएको छ । बैंकका अनुसार घरजग्गाको लिखत पारित, कारोबार मूल्य, क्षेत्रफल, सरकारी राजस्व र बैंकहरूबाट यस क्षेत्रमा प्रवाह भएको कर्जाजस्ता मुख्य सूचकहरूलाई आधार मानी यो विश्लेषण गरिएको हो ।
अबदेखि राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागसँगको समन्वयमा यस्तो विवरण त्रैमासिक रूपमा नियमित प्रकाशन गर्ने नीति समेत लिएको छ ।
तथ्याङ्कको रोचक पक्ष के छ भने घरजग्गा कारोबारमा स्पष्ट ‘सिजनल’ प्रभाव देखिएको छ, जहाँ आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने गरेको पाइएको छ । प्रादेशिक आधारमा हेर्दा मधेस प्रदेश कारोबार संख्या र क्षेत्रफल दुवैमा देशकै अग्रणी देखिएको छ भने लुम्बिनी र कोशी प्रदेशले त्यसलाई पछ्याएका छन् ।
बागमती प्रदेशमा भने घोषित मूल्यका आधारमा सबैभन्दा महँगो कारोबार हुने गरेको प्रतिवेदनले औँल्याएको छ। प्लटको आकारका हिसाबले मधेस प्रदेशमा २० आनाभन्दा ठूला जग्गाको खरिदबिक्री बढी हुने गरे तापनि अन्य प्रदेश र सहरी क्षेत्रमा भने ५ देखि १० आनाका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।
बैंकिङ क्षेत्रको संलग्नतालाई हेर्दा पछिल्लो पाँच वर्षमा घरजग्गा कर्जा ७२ दशमलव ४१ प्रतिशत र आवासीय कर्जा ६१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ। घरजग्गाबाट प्राप्त हुने सरकारी राजस्वमा विगतका वर्षहरूमा ठूलो गिरावट आए पनि पछिल्लो समय सुधारको लय समातेको देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा करिब ८ अर्ब २० करोडमा खुम्चिएको त्रैमासिक राजस्व हाल १५ अर्ब रुपैयाँसम्म पुग्नुले बजार बिस्तारै चलायमान हुँदै गएको पुष्टि गर्दछ । राष्ट्र बैंकले यो तथ्याङ्कले रियलस्टेट क्षेत्रको पारदर्शिता बढाउने र दोस्रो चरणमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण गरी बजारको वास्तविक मूल्यवृद्धिको मापन गर्ने योजना समेत अघि सारेको छ ।

















