३० चैत, काठमाडौं । समाजकल्याण परिषद्ले भृकुटीमण्डपस्थित आफ्नो स्वामित्वमा रहेका सटर तथा स्टलहरूमा वर्षौंदेखि भाडा नतिर्ने संस्थाहरूमाथि कडा कदम चालेको छ ।
सोमबार सुरक्षाकर्मीको सहयोगमा परिषद्ले भाडा बक्यौता रहेका २० वटा स्टलमा ताला लगाएको हो । वर्षौंदेखि ताकेता गर्दा पनि भाडा तिर्न अटेर गरेपछि परिषद्ले व्यावसायिक तथा गैर(सरकारी संस्थाहरूको कब्जामा रहेका ती सटरहरूमा सिलबन्दी गरेको हो । यसरी कारबाहीमा पर्नेहरूमा ठूला राजनीतिक भ्रातृ संगठनदेखि प्रतिष्ठित पत्रकारिता सम्बद्ध संस्थाहरू समेत रहेका छन् ।
परिषद्को तथ्याङ्क अनुसार सबैभन्दा धेरै बक्यौता काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको देखिएको छ। यस संस्थाले दुईवटा स्टलको गरी कुल २ करोड ९० लाख रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी छ । त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख र बालबालिकाका लागि गैरसरकारी संस्था महासंघले करिब ९० लाख रुपैयाँ बुझाएका छैनन् । नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) ले पनि २०७७ सालदेखि भाडा नतिरेको पाइएपछि उनीहरूको स्टलमा समेत ताला झुण्डिएको छ ।
यो कारबाहीको दायरामा सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाहरू पनि परेका छन् । ऋषि धमला सञ्चालक रहेको रिपोर्टर्स क्लब नेपालले ७३ लाख ४० हजार रुपैयाँ र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले ३३ लाख रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी राखेका छन् ।
यसैगरी, उपभोक्ता मञ्च, नेपाल फोटो पत्रकार महासंघ र विभिन्न जुत्ता तथा खाजा पसलहरूले पनि लाखौँ रुपैयाँ बक्यौता राखेपछि परिषद्ले कानुनी प्रक्रिया अघि बढाउँदै भौतिक रूपमै नियन्त्रणमा लिएको छ । परिषद्को यो कदमले सार्वजनिक सम्पत्ति प्रयोग गरेर दायित्व पूरा नगर्नेहरूलाई कडा सन्देश दिएको छ ।

















