Logo

३० चैत,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको सहभागिता बढ्दै जानु उत्साहजनक विषय भएको बताएका छन्।

नयाँ वर्ष–२०८३ को अवसरमा सोमबार जारी शुभकामना सन्देशमा उनले आधुनिक प्रविधिको ज्ञान भएका, शिक्षित र देशबारे बुझाइ भएका युवाको आगमनले राष्ट्रलाई थप फलदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो,” सन्देशमा उल्लेख गर्दै उनले देश विकासमा दक्ष र ऊर्जावान पुस्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

पूर्वराजा शाहले पछिल्ला वर्षहरूमा नेपालको विकास अपेक्षित रूपमा अघि नबढेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। उनका अनुसार राजनीतिक प्रणाली र शासन व्यवस्थामा विभिन्न परिवर्तन भए पनि त्यसले ठोस परिणाम दिन नसकेको धारणा आम नागरिकमा रहेको छ।

उनले भनेका छन्, “विगतका वर्षहरूमा वाञ्छित विकासको दृष्टिले नेपाल झन् पछाडि परेको आम मनोभावना रह्यो। राजनीतिक र प्रशासनिक प्रणालीमा धेरै परिवर्तन भए, तर ती परिवर्तनहरू केवल कोरा भए।”

शाहले देशलाई ‘प्रयोग र अभ्यासको चरणमै सीमित राखिएको’ जस्तो अवस्था बनेको टिप्पणी गर्दै त्यसको परिणामस्वरूप विकास अपेक्षित रूपमा अघि नबढेको दाबी गरेका छन्।


सम्बन्धित समाचार