Logo

१ बैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै विगतका अनुभवबाट पाठ सिकेर भविष्य निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले बितेको वर्ष २०८२ अब इतिहास बनिसकेकाले नयाँ वर्षलाई नयाँ संकल्पका साथ स्वागत गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले सफलता वा विफलता, अवसर वा चुनौती, र कमजोरी वा उपलब्धि – यी सबै अनुभवहरूलाई वस्तुनिष्ठ समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । विगतका त्रुटीहरूबाट सिक्दै भविष्यको लक्ष्य निर्धारण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

आफ्नो सन्देशमा पूर्वप्रधानमन्त्री ओलीले मुलुकको परिवर्तनका लागि पुस्तान्तरण र समन्वयको सूत्र अघि सारेका छन् । उनले भनेका छन्, “समाजको ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच सार्थक समन्वय हुन सके मात्र मुलुकले सकारात्मक परिवर्तनको गति लिन सक्छ ।”

नयाँ वर्ष २०८३ ले देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र आपसी सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख र समृद्धिको कामना गरेका छन् । नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने ओलीको सन्देशमा उल्लेख छ ।


सम्बन्धित समाचार