१ बैशाख, चितवन । माडीको पर्यटन प्रवर्द्धनलाई नयाँ डिजिटल युगमा प्रवेश गराउने उद्देश्यसहित आज पवित्र एवं ऐतिहासिक स्थल सोमेश्वरगढी परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा ‘एक्सप्लोर माडी’ नामक आधिकारिक पर्यटकीय पोर्टलको औपचारिक शुभारम्भ गरिएको हो । पोर्टलको शुभारम्भ क्युआर कोड स्क्यानमार्फत डिजिटल रूपमा गरिएकोले कार्यक्रम थप आधुनिक र आकर्षक बनेको थियो ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले पोर्टलको उद्घाटन गर्दै माडीको पर्यटन क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर दीर्घकालीन विकास गर्ने लक्ष्य रहेको बताईन् । उनले माडीलाई देश तथा विदेशमा चिनाउन डिजिटल माध्यम अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय स्रोत, साधन र सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको धारणा राखिन् ।

कार्यक्रम सोमेश्वरगढी को धार्मिक र ऐतिहासिक महत्व बोकेको स्थलमा आयोजना गरिएको थियो । कार्यक्रममा उपमेयर खेमप्रसाद महतो,प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल,सहित विभिन्न वडाका वडा अध्यक्षहरू, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरू, होमस्टे सञ्चालकहरू, बौद्धिक व्यक्तित्वहरू,सोमेश्वर गढी समिति पदाधिकारीहरू नगरपालिकाका कर्मचारीहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
‘एक्सप्लोर माडी’ पोर्टलले अब माडी आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आवश्यक सम्पूर्ण जानकारी एकै स्थानमा उपलब्ध गराउनेछ । पोर्टलमा धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, होमस्टे सेवा, स्थानीय संस्कृति, यात्रा मार्गदर्शन, आपतकालीन सम्पर्क नम्बरहरू तथा अन्य आवश्यक सूचनाहरू समेटिनेछन् । यसले पर्यटकलाई सहजता प्रदान गर्नुका साथै स्थानीय व्यवसाय र सेवाप्रदायकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले डिजिटल प्रविधिमार्फत गरिएको शुभारम्भलाई माडी पर्यटनको नयाँ युगको सुरुवातका रूपमा स्वागत गर्दै खुसी व्यक्त गरेका थिए। उपस्थित सबैले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै ‘एक्सप्लोर माडी’ पोर्टलले माडीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
यस पहलसँगै माडीको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीलाई प्रविधिमार्फत विश्वसामु पुर्याउने महत्वपूर्ण आधार तयार भएको छ, जसले आगामी दिनमा स्थानीय आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

















