१ वैशाख,काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला विकास आयोजना प्रभावित बनेका छन्।
निर्माण व्यवसायीहरूले मौज्दात इन्धनबाट काम गरिरहेको भए पनि मूल्यवृद्धि र अभावले आयोजनाहरू अगाडि बढाउन कठिन भएको बताएका छन्।
सेती राजमार्गको दक्षिण खण्डको काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले जानकारी दिनुभयो। उहाँका अनुसार डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको भए पनि इन्धनको महँगीपछि निर्माण व्यवसायीहरूले काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिन थालेका छन्।
यसैगरी सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणसमेत प्रभावित भएको छ। कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म फैलिएको महाकाली कोरिडोरमा १३ वटा प्याकेजमार्फत निर्माण भइरहेको भए पनि निर्माण व्यवसायीहरूले महँगीका कारण काम रोकेका छन्।
महाकाली कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुमिनलगायत सामग्रीको मूल्यवृद्धिले काम प्रभावित बनेको बताउनुभयो।
४२५ किलोमिटर लम्बाइको उक्त कोरिडोर अन्तर्गत कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा सडक निर्माण भइरहेको छ। दार्चुलाको ७९ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
निर्माण व्यवसायीहरूले मूल्यवृद्धि समायोजन नभएसम्म काम गर्न नसकिने भन्दै सरकारसँग मूल्य समायोजनको माग गरेका छन्।

















