१ वैशाख,वीरगञ्ज । नेपाल–भारत खुला सीमामा पछिल्ला दिनहरूमा बढाइएको कडाइका कारण तराई–मधेश क्षेत्रका सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन थालेको छ । सीमापारि भारतीय बजारमा निर्भर रहेका स्थानीय बासिन्दा इन्धनदेखि दैनिक उपभोग्य सामग्रीसम्मको आपूर्तिमा कठिनाइ भोग्न बाध्य भएका छन् ।
नेपालतर्फ भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ बढाइएपछि त्यसको असर सीमापारि पनि देखिन थालेको छ । रौतहटको गौरसँग जोडिएको भारतको वैरगनिया क्षेत्रस्थित नन्दबारा नजिकका केही पेट्रोल पम्पहरूले नेपाली नम्बर प्लेटका सवारीलाई इन्धन नदिने निर्णय गरेपछि स्थानीयवासी थप समस्यामा परेका छन् ।
यस कदमले सीमा क्षेत्रको आवतजावतमा असर पारेको छ । पहिले सहज रूपमा सीमापारि गएर इन्धन तथा आवश्यक सामग्री ल्याउने परम्परा अहिले अवरुद्ध भएको स्थानीयले बताएका छन् । इन्धन नपाउँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था समेत देखिएको छ ।
कटहरिया नगरपालिका–४ का एक स्थानीयले भारतबाट फर्किने क्रममा पेट्रोल सकिएपछि पम्पले नेपाली नम्बर प्लेट भएकै कारण इन्धन दिन अस्वीकार गरेको र बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुग्नुपरेको अनुभव सुनाएका छन् ।
सीमामा देखिएको कडाइले दुई देशबीचको सामाजिक सम्बन्धमा समेत असर पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भारतमा पेट्रोल तुलनात्मक रूपमा सस्तो भएकाले आपूर्तिमा नियन्त्रण गर्नुपर्ने नीति अपनाइएको हुनसक्ने अनुमान समेत गरिएको छ ।
नेपालमा बढ्दो महँगी र कडाइपूर्ण नीतिका कारण जनजीवन झन् असहज बन्दै गएको स्थानीयको गुनासो छ । समस्या केवल इन्धनमा सीमित नरहने भन्दै अन्य दैनिक उपभोग्य वस्तुमा समेत असर पर्न सक्ने जोखिम देखिएको छ ।
सीमा व्यवस्थापनमा समन्वयको अभावले मधेशवासी दोहोरो दबाबमा परेको भन्दै स्थानीयले समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक रहेको माग गरेका छन् ।

















