२ वैशाख, काठमाडौं ।बिहारमा नयाँ राजनीतिक परिवर्तनसँगै सम्राट चौधरीले राज्यको २४ औँ मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। उनी भारतीय जनता पार्टी (भाजपा) बाट बिहारको मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका छन्।
बुधबार आयोजित समारोहमा राज्यपाल अता हसनैनले चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पूर्व मुख्यमन्त्री नीतीश कुमारले राजीनामा दिएपछि बिहारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।
सम्राट चौधरीसँगै जनता दल युनाइटेड (जदयू) का नेता बिजेंद्र यादव र विजय कुमार चौधरीले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। यससँगै राज्यमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) नेतृत्वको सरकार औपचारिक रूपमा गठन भएको छ।
मंगलबार, अप्रिल १४ मा भाजपा विधायक दलको नेता चयन भएपछि चौधरीले राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरेका थिए। शपथ ग्रहण समारोहमा एनडीए आबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शपथ लिनुअघि चौधरीले पटनास्थित पंचरूप हनुमान मन्दिरमा पुगेर पूजा–अर्चना गरेका थिए।
यसैबीच, पदबाट राजीनामा दिएपछि नीतीश कुमारले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकालमा बिहारको विकासका लागि उल्लेखनीय काम गरेको दाबी गर्दै नयाँ सरकारलाई पूर्ण सहयोग र मार्गदर्शन दिने बताएका छन्।
हाल बिहार विधानसभामा एनडीएसँग २०२ सदस्यहरूको समर्थन रहेको छ। सम्राट चौधरीको नेतृत्वमा अब नयाँ सरकारले राज्यको शासन सञ्चालन गर्नेछ।


















