२ वैशाख, काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका–इरानबीचको तनावका कारण यसअघि स्थगित गरिएको पुनः श्रम स्वीकृति पुनः सञ्चालनमा ल्याइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार इराकको हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान गरिनेछ।
यसअघि मन्त्रालयले १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगित गरेको थियो। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको थियो।
त्यसपछि ३ चैत २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा अब बाँकी देशहरूमा पनि पुनः श्रम स्वीकृति खुला गरिएको श्रम मन्त्रालयले जनाएको छ।
यद्यपि, ती देशहरूमा नयाँ श्रम स्वीकृति दिने विषयमा भने परिस्थितिको मूल्याङ्कनपछि मात्रै निर्णय गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

















