Logo

२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन यही वैशाख ४ गते हुने भएको छ। ‘मिनी संसद्’ का रूपमा रहेका समितिका नेतृत्व चयनका लागि संघीय संसद् सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

निर्वाचन तालिकाअनुसार बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। प्रस्तावमा एक जना प्रस्तावक र अर्को एक जना समर्थक आवश्यक हुने संघीय संसद् सचिवालयका प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिए।

त्यसपछि अपराह्न ४:३० बजेसम्म दर्ता भएका प्रस्तावहरूको सूची क्रमअनुसार प्रकाशित गरिनेछ। शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्ताव प्रस्तुत, समर्थन र निर्णय प्रक्रिया अघि बढाइनेछ।

निर्वाचन प्रक्रियामा एकभन्दा बढी समितिमा सदस्य रहेका मन्त्रीहरूले मतदान गर्नुपर्ने अवस्था आएमा २४ घण्टा अगावै सम्बन्धित समितिलाई लिखित जानकारी दिन सचिवालयले अनुरोध गरेको छ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र दुई संयुक्त समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन र उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समिति छन्।

यसैगरी संयुक्त समितिमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन्।


सम्बन्धित समाचार