२ वैशाख, काठमाडौं । मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौती तथा सरोकारवालाहरूको भूमिकाबारे केन्द्रित एक छलफल कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। कार्यक्रम को क्याप (CoCAP) को आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा “साथ–साथ सिकाइ सञ्जाल” का संयोजक तथा दलित महिला संघ पर्साकी कार्यकारी निर्देशक निला रामले प्रस्तुति दिँदै मानव अधिकार रक्षकहरूले सामना गरिरहेका समस्या, विशेषगरी महिला तथा किशोरीमाथि हुने हिंसा, विभेद र सुरक्षासम्बन्धी चुनौतीबारे प्रकाश पारिन्।
छलफलमा को क्यापकी अन्जु कंडेल, संरक्षण अधिकृत पबित्रा कार्की, नारायणी अस्पताल वीरगञ्जकी प्रसूति गृह प्रमुख हेमा थापा, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले हिंसापीडित महिला तथा किशोरीका लागि सुरक्षित आवास (सेफ हाउस/सेफ होम) को अभाव प्रमुख चुनौतीका रूपमा रहेको बताएका थिए। उनीहरूले सुरक्षित आवासको व्यवस्था भएमा पीडितको संरक्षण र पुनर्स्थापना सहज हुने धारणा राखे।
यसैगरी, सरोकारवाला निकायबीच समन्वय, सचेतना अभिवृद्धि र प्रभावकारी नीति कार्यान्वयनमार्फत मानव अधिकार संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। कार्यक्रमले मानव अधिकार रक्षकहरूको सुरक्षा, सशक्तीकरण र संस्थागत सहयोगका लागि थप पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

















