३ वैशाख,धनुषा । धनुषाको सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदीप महतो मृत अवस्थामा फेला पर्नुभएको छ। उहाँको शव गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरअन्तर्गत तीन नम्बर पुलमा बुधबार राति करिब ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा १०/१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतलहरू भेटिएका छन्। प्रारम्भिक अनुमानअनुसार महतोसहित आठ/नौ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने देखिएको छ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले मृत्युको कारण तत्काल खुल्न नसकेको बताउँदै विस्तृत अनुसन्धान र शव परीक्षणपछि मात्रै यथार्थ कारण थाहा हुने जानकारी दिनुभयो। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
प्रहरीका अनुसार घटनास्थलमा महतोसँगै रहेका भनिएका व्यक्तिहरू फरार छन्। उनीहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ। साथै, प्रारम्भिक सूचना दिने व्यक्ति पनि हाल सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
मृतक महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

















