३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दललाई थप सुदृढ बनाउन नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।
शुक्रबार बसेको दलको बैठकले पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । संसदीय समितिहरूको निर्वाचन र संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने सन्दर्भमा रास्वपाले सङ्गठनात्मक रूपमा अनुभवी मानिएका बुर्लाकोटीलाई यो जिम्मेवारी दिएको हो ।
मुख्य सचेतकसँगै बैठकले संसदीय दलको सचेतक पदमा दुई सांसदलाई चयन गरेको छ । जसमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकको जिम्मेवारी दिइएको छ । नयाँ चयन गरिएका सचेतकहरूले संसद्मा पार्टीका सांसदहरूको उपस्थिति, समन्वय र दलीय अनुशासन कायम राख्न मुख्य सचेतकलाई सहयोग गर्नेछन् ।
‘जेन–जी’ र युवाहरूको मुद्दालाई संसद्मा सशक्त ढङ्गले उठाउने रणनीति लिएको रास्वपाले संसदीय मोर्चामा गरेको यो हेरफेरलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

















