३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र प्रलोभनमा पार्ने बिचौलियाहरू विरुद्ध प्रहरीले कडा कदम चालेको छ ।
मालपोत कार्यालय कलङ्की, चाबहिल र त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवाग्राहीहरूलाई छिटो काम गरिदिने बहानामा हैरानी दिने १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका टोलीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई विभिन्न कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका व्यक्तिहरूले सरकारी कार्यालयमा काम लिएर पुग्ने सर्वसाधारणलाई प्रक्रिया मिचेर काम गरिदिने प्रलोभन देखाउने र त्यसबापत अवैध रकम माग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने र सरकारी कर्मचारी तथा सर्वसाधारणबीच अनावश्यक बाधा सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप उनीहरूमाथि छ । नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखी प्रहरीले थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले सरकारी कार्यालयहरूमा हुने यस्ता अवाञ्छित गतिविधि रोक्न र सेवाग्राहीलाई सुरक्षित रूपमा सेवा लिने वातावरण बनाउन निगरानी बढाएको जनाएको छ ।
बिचौलियाको चंगुलमा नफस्न र कुनै पनि समस्या परेमा सिधै कार्यालयका कर्मचारी वा सुरक्षाकर्मीलाई जानकारी गराउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ। उपत्यकाका अन्य व्यस्त कार्यालयहरूमा पनि यस्तो अपरेसनलाई निरन्तरता दिने तयारी प्रहरीको छ ।

















