४ बैशाख, काठमाडौं । गरिबीको मार कति निर्मम हुन्छ भन्ने उदाहरण सिन्धुलीका १७ वर्षीय शिव सदाको कथाले प्रष्ट पार्छ ।
विष सेवनपछि बाँच्न सफल भएका शिव यतिबेला विराटनगरस्थित विराट निदान हस्पिटलमा उपचार सकिएर पनि घर फर्कन पाएका छैनन् । अस्पतालको १ लाख ३० हजार रुपैयाँ बिल तिर्न नसक्दा उनी एक सातादेखि अस्पतालको शय्यामै ‘बन्धक’ जस्तै बनेका छन् ।
उपचारले बचायो ज्यान, बिलले थप्यो पीडा
गम्भीर अवस्थामा कटारी र कोशी अस्पताल हुँदै निजी अस्पताल पुर्याइएका शिवको ज्यान त जोगियो, तर परिवारका लागि बिलको अंक पहाड जस्तै बन्यो । कोशी अस्पतालमा अक्सिजन नभएको भन्दै फर्काइएपछि एम्बुलेन्स चालकको सल्लाहमा उनलाई निजी अस्पताल लगिएको थियो । दुई दिनमै स्वास्थ्यमा सुधार त आयो, तर अस्पतालले बाँकी रकम भुक्तानी नगरेसम्म डिस्चार्ज दिन अस्वीकार गरेपछि सुकुम्वासी परिवार बिचल्लीमा परेको छ ।
पैसा खोज्न हिँडेकी आमा बेपत्ता
पीडामाथि अर्को वज्रपात तब थपियो, जब छोरा छुटाउन पैसाको जोहो गर्न हिँडेकी आमा मघिया सदा आफैँ सम्पर्कविहीन भइन् । गोजीमा पैसा नभएपछि विराटनगरबाट झन्डै ३०० किलोमिटर टाढा रहेको सिन्धुलीको घरतर्फ पैदलै हिँडेकी उनी तीन दिनदेखि बेपत्ता छिन् ।
औषधि किन्न मोबाइल समेत १५ सयमा बन्धकी राखेकी मघियाको अवस्था थाहा नहुँदा अस्पतालमा रहेका परिवारका सदस्यहरू झन् त्रसित बनेका छन् ।
अस्पतालको दबाब र सरकारी लाचारी
अस्पतालका कर्मचारी बताउने व्यक्तिहरूले ‘पैसा नतिरे बिरामीलाई जे पनि हुन सक्छ’ भन्दै धम्कीपूर्ण फोन गर्ने गरेको गुनासो परिवारले गरेको छ । ऋण काढेर बुझाइएको २० हजारले अस्पतालको चित्त बुझेको छैन । सरकारी अस्पतालले समयमै उपचार नगरिदिँदा निजीको ऋणमा डुबेको यो दलित परिवार यतिबेला न्याय र सहयोगका लागि गुहार मागिरहेको छ ।

















