Logo

४ वैशाख,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ मा सिँचाइका लागि निर्माण गरिएको नहर पुरेर सडक निर्माण सुरु गरिएपछि स्थानीय स्तरमा विवाद चर्किएको छ।

करिब ३० लाख रुपैयाँ लागतको उक्त योजना आवश्यकताको आधारमा नभई स्वार्थप्रेरित ढंगले अघि बढाइएको आरोप स्थानीयवासीले लगाएका छन्। साविक बहुअरी गाविस–९ अन्तर्गत निर्माण गरिएको नहरले वर्षौंदेखि कृषिमा सहयोग पुर्‍याउँदै आएको थियो।

स्थानीयका अनुसार नहर पुरिँदा सिँचाइ प्रणालीमा असर पर्नुका साथै गाउँको पानी निकास समेत अवरुद्ध हुने खतरा बढेको छ। यसले खेतीपाती, सरसफाइ र डुबानको समस्या निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।

स्थानीय सिमनतर रामले नहर मासेर सडक बनाउने कार्यले दीर्घकालीन समस्या ल्याउने बताए। अर्का स्थानीय रोहित गुप्ताले सडक आवश्यक नभएको स्थानमा यस्तो योजना ल्याइनु शंकास्पद भएको बताएका छन्।

योजना कार्यान्वयनमा पारदर्शिता नभएको आरोप लगाउँदै स्थानीयवासीले छानबिनको माग गरेका छन्। उनीहरूले तत्काल निर्माण कार्य रोक्न, योजनाको औचित्य स्पष्ट पार्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउन माग गरेका छन्।


सम्बन्धित समाचार