Logo

५ वैशाख, काठमाडौँ । मध्यपूर्वको भू–राजनीतिक तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानबीच पुनः कूटनीतिक वार्ताको प्रयास सुरु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू वार्ताका लागि सप्ताहन्तमा पाकिस्तान आइपुग्ने तयारीमा छन् । सोमबारदेखि वार्ता सुरु हुन सक्ने अपेक्षा गरिए पनि वासिङ्टनले भने यसको औपचारिक पुष्टि गरिसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मात्रै दुवै पक्ष सम्झौताको नजिक पुगिसकेको भन्दै सकारात्मक संकेत दिएका थिए । अमेरिकी प्रशासनले वार्ताको आधिकारिक घोषणा नगरे पनि इरानी स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले भने दुवै देशका कूटनीतिज्ञहरू पाकिस्तानमा जम्मा हुने दाबी गरेको छ ।

यसैबीच, रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गको विषयलाई लिएर तेहरानको दोहोरो धारणा सार्वजनिक भएको छ । इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूको आवतजावतका लागि जलमार्ग खुला रहेको भन्दै द्वन्द्व अन्त्यको संकेत गरे पनि इरानी संसदका सभामुखको अभिव्यक्तिले परिस्थिति अझै जटिल रहेको देखाएको छ । सभामुखले अमेरिकाले यस क्षेत्रबाट आफ्नो नौसेनाको नाकाबन्दी तत्काल नहटाए जलमार्ग पुनः बन्द गर्ने चेतावनी दिएका छन् ।

विशेषज्ञहरूका अनुसार, एकातर्फ वार्ताको तयारी र अर्कोतर्फ सैन्य चेतावनीका कारण मध्यपूर्वको कूटनीतिक सन्तुलन निकै संवेदनशील अवस्थामा छ । पाकिस्तानमा हुन लागेको भनिएको यो संभावित वार्ताले दुई देशबीचको कटुता कम गर्ने वा शक्ति प्रदर्शनको अर्को चरण सुरु गर्ने भन्ने कुरा ट्रम्प प्रशासनको पछिल्लो कदम र इरानको सैन्य नीतिमा निर्भर रहने देखिएको छ ।


सम्बन्धित समाचार