Logo

५ वैशाख,काठमाडौं । इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सबै व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको छ।

न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा भएको कारोबारअनुसार जुन महिनाका लागि तय सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ भने मे महिनाका लागि तय चाँदीको मूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

विश्लेषकहरूका अनुसार इरानको घोषणाले कच्चा तेलको आपूर्तिमा सहजता आउने अपेक्षा बढेपछि तेलको मूल्य भने तीव्र रूपमा घटेको छ। तेल सस्तो हुँदा मुद्रास्फीतिको दबाब केही कम हुने संकेत देखिए पनि लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुन र चाँदीतर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो।

यसैबीच, अमेरिकी डलर कमजोर हुनु र तेलको मूल्यमा आएको गिरावटले पनि सुन–चाँदीको माग बढाएको विश्लेषकहरूको भनाइ छ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघची ले सामाजिक सञ्जाल एक्समार्फत लेबनानमा भएको युद्धविरामको सन्दर्भ उल्लेख गर्दै हर्मुज जलसन्धि सबै व्यावसायिक जहाजका लागि पुनः खुला गरिएको जानकारी दिएका छन्। उनले युद्धविराम अवधिभर यो मार्ग पूर्ण रूपमा सञ्चालनमा रहने बताएका छन्।


सम्बन्धित समाचार