Logo

७ बैशाख, इस्लामावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव व्यवस्थापनका लागि दोस्रो चरणको वार्ताको घोषणा गर्दै अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार बेलुकीसम्म पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने जानकारी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले वार्ताका लागि टोली पठाउन लागिएको पुष्टि गरेका हुन् ।

यस पटकको वार्तामा अमेरिकाले इरानसमक्ष ‘उचित र निष्पक्ष’ प्रस्ताव राख्ने तयारी गरेको छ । राष्ट्रपति ट्रम्पले इरानले उक्त प्रस्ताव स्वीकार गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यद्यपि, उनले वार्ता सकारात्मक नभएमा इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । इरानले सर्तहरू नमानेको खण्डमा त्यहाँका प्रत्येक ऊर्जा संरचना र रणनीतिक पुलहरू ध्वस्त पारिदिने कडा चेतावनी ट्रम्पको सन्देशमा उल्लेख छ ।

हर्मुज जलसन्धिको पछिल्लो तनावका विषयमा बोल्दै ट्रम्पले इरानले जहाजमा गोलाबारी गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । इरानले हर्मुज जलसन्धि पुनः बन्द गर्ने भनी गरेको घोषणालाई ‘हास्यास्पद’ संज्ञा दिँदै ट्रम्पले त्यहाँ पहिले नै अमेरिकी नाकाबन्दी रहेको स्पष्ट गरे ।

जलसन्धि बन्द हुँदा इरानलाई नै दैनिक ५० करोड डलरको नोक्सानी भइरहेको र यसबाट अमेरिकालाई कुनै प्रभाव नपर्ने दाबी समेत उनले गरेका छन् ।

अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसका अनुसार यस पटकको वार्तामा पनि अमेरिकाले पुरानै अनुभवी टोली पठाउँदैछ । जसमा उपराष्ट्रपति जेडी भान्स, मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ र ट्रम्पका प्रभावशाली ज्वाइँ ज्यारेड कुश्नर सामेल हुनुहुन्छ ।

यो टोलीले पहिलो चरणको वार्तामा पनि मुख्य भूमिका निर्वाह गरेको थियो । यता, अमेरिकाले वार्ताको एकतर्फी घोषणा गरे पनि इरान र आयोजक राष्ट्र पाकिस्तानले भने यसबारे आधिकारिक रूपमा कुनै पुष्टी गरेका छैनन् ।

ट्रम्पको घोषणा लगत्तै कूटनीतिक सक्रियता भने तीव्र बनेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानी राष्ट्रपति मशुद पेजेस्कियनसँग करिब ४५ मिनेट टेलिफोनमा कुराकानी गरेका छन् भने परराष्ट्रमन्त्री इशाक डारले पनि आफ्ना इरानी समकक्षी अब्बास अराग्चीसँग छलफल गरेका छन् ।

इरानले हालसम्म वार्ताका लागि स्पष्ट प्रतिबद्धता नजनाएको भए पनि पाकिस्तानको मध्यस्थतामा हुने भनिएको यो दोस्रो चरणको वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरेको छ । दुई हप्ते युद्धविरामको समय घर्कदै गर्दा हुन लागेको यो वार्ताले मध्यपूर्वको भविष्य र क्षेत्रीय शान्ति निर्धारण गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार