७ वैशाख, बारा । वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मका आलिशान महलहरूमा डोजर चलाएर तहसनहस पारेको सडक डिभिजन कार्यालय हेटौँडाले अब आफ्नो ध्यान बाराको अमलेखगञ्जर्फ मोडेको छ। पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत पर्ने अमलेखगञ्जको ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्रमा रहेका घर, टहरा र होटलहरू हटाउन कार्यालयले आज (सोमबार) अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो।
सडक डिभिजनले जारी गरेको सूचनामा आगामी वैशाख १० गतेभित्र सडक सीमाभित्रका सबै संरचना आफैँ हटाउन निर्देशन दिइएको छ। सूचनामा भनिएको छ, पूर्वपश्चिम राजमार्गको पथलैया चुरियामाई ३ नं पुल र चुरियामाई मन्दिर बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ दुवैतिर २५/२५ मिटरको सीमाभित्र रहेका घर, टहराहरू हालसम्म पनि नहटाइएकोले मिति २०८३/०१/१० गतेभित्र हटाउन पुनः यो सूचना प्रकाशित गरिएको छ।
विभागले वैशाख ११ गतेदेखि उक्त क्षेत्रमा डोजर लगाएर संरचना भत्काउने तयारी गरेको छ। यदि अटेर गरी आदेश कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्र नेपालभर नै स्वादिष्ट खाना र नास्ताका लागि चर्चित ठाउँ हो। राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुहरूका लागि यो ठाउँ मुख्य विश्राम स्थल र खाजा खाने केन्द्रका रूपमा चिनिन्छ। यहाँ रहेका धेरै होटल र पसलहरू वर्षौँदेखि सञ्चालनमा छन्। सडक विभागको यो सूचनासँगै यहाँका व्यवसायी र स्थानीय बासिन्दाहरूमा ठूलो त्रास फैलिएको छ।
वीरगञ्जमा पर्याप्त समय नदिई डोजर चलाइएको र सर्वसाधारणको उठीबास लगाइएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला अमलेखगञ्जमा पनि सोही प्रकृतिको कदम चाल्न लागिएको हो। वीरगञ्जमा जस्तै यहाँ पनि अकस्मात् आएको सूचनाले व्यवसायीहरूलाई आफ्ना सरसामान व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।
लामो समयदेखि सडक सीमा मिचेर बनाइएका संरचना हटाउने सूचना पटक–पटक जारी गरिएको दाबी विभागले गरे पनि, वीरगञ्जको कडा कारबाहीपछि अमलेखगञ्जको यो पालोले राजमार्ग क्षेत्रका अन्य बस्तीहरूमा पनि ढिलोचाँडो डोजर पुग्ने सङ्केत गरेको छ।
वैशाख ११ गतेदेखि सुरु हुने भनिएको यो अपरेसनले ३ नम्बर पुलको पहिचान र त्यहाँको जनजीवनलाई कस्तो असर पार्छ भन्ने विषय यतिबेला बारा र पर्सा क्षेत्रमा चर्चाको विषय बनेको छ।




















