Logo

१० वैशाख, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आफ्नो आधिकारिक नाम र लोगोको दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालित अनाधिकृत पेज तथा ग्रुपहरूलाई तत्काल हटाउन कडा निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा फैलाइरहेको भ्रमपूर्ण र तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

फेसबुक, टिकटक र युट्युब लगायतका प्लेटफर्महरूमा ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, र ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम तथा बोर्डको लोगो प्रयोग गरेर थुप्रै अनाधिकृत पेजहरू सञ्चालनमा रहेको पाइएको छ। यस्ता पेजहरूले आम नागरिकलाई स्वास्थ्य बीमाबारे गलत र भ्रामक सूचना सम्प्रेषण गरिरहेको बोर्डको निष्कर्ष छ ।

बोर्डले ती अनाधिकृत पेज वा ग्रुप सञ्चालन गर्ने व्यक्ति वा समूहलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता सामग्री पूर्ण रूपमा हटाउन र पेज बन्द गर्न स्पष्ट निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्ने वा अटेर गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।

सरकारी निकायको नाम र लोगो दुरुपयोग गरी सञ्चालन गरिएका यस्ता माध्यमबाट कुनै पनि काम कारबाही वा आर्थिक लेनदेन नगर्न बोर्डले आम नागरिकलाई आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा सम्बन्धी आधिकारिक सूचनाका लागि आफ्नो आधिकारिक वेबसाइट वा आधिकारिक सामाजिक सञ्जालका पेजहरू मात्रै विश्वास गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

पछिल्लो समय सरकारी सेवा प्रवाहमा खटिएका संस्थाहरूको नाममा सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएपछि बीमा बोर्डले यस्तो कठोर कदम चालेको हो । अनधिकृत पेजहरूबाट भइरहेको गलत सूचना प्रवाहले नागरिकमा मात्र नभई संस्थाको गरिमामा पनि आँच पुर्‍याएको बोर्डको ठहर छ ।


सम्बन्धित समाचार
भर्खरै