Logo

१० वैशाख, वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालयमा एक प्रहरी जवानले आफ्नै हात काट्ने प्रयास गरेपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चिएको छ । प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाको कार्यकक्षमा उपस्थित गराइएका प्रहरी जवान रोशन यादवले बुधबार छानबिनका क्रममा आफूमाथि ‘यातना’ दिइएको भन्दै हात काट्ने प्रयास गरेका हुन् ।

धनुषाको जानकी प्रहरी चौकीमा कार्यरत रहेका जवान यादवलाई प्रहरीभित्रको विवादास्पद अडियो प्रकरणमा छानबिन गर्न भन्दै चार दिनअघि प्रदेश कार्यालयमा झिकाइएको थियो ।

डीआईजी थपलिया र छानबिनमा संलग्न अधिकृतहरूले आफूलाई जबर्जस्ती निलम्बित वरिष्ठ सई सागर शमसेर जबरालाई सम्पर्क गराउन दबाब दिएको र सो क्रममा अमानवीय व्यवहार (टर्चर) गरेको यादवको आरोप छ । घटनालगत्तै एक सञ्चारकर्मीसँगको टेलिफोन संवादमा जवान यादवले आफूलाई मानसिक र शारीरिक रूपमा प्रताडित पारिएपछि उक्त कदम चालेको दुखेसो पोखेका छन् ।

अडियो प्रकरण: ‘डीआईजीकै नाममा असुली’

यस घटनाको जरो जानकी चौकीका तत्कालीन इन्चार्ज वरिष्ठ सई सागर शमसेर जबरा र एक स्थानीय व्यापारीबीचको सार्वजनिक भएको अडियो संवादसँग जोडिएको छ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोमा डीआईजी थपलियाको नाम लिएर प्रहरीका घुमुवाहरूले रकम असुली गरिरहेको गम्भीर आरोप लगाइएको छ ।

अडियोमा व्यापारीले ‘म सँग जयलाल यादवले ३ लाख र उमेश नामका व्यक्तिबाट डेढ लाख रुपैयाँ डीआईजीको नाममा असुल्ने गरेका छन्’ भनी स्पष्ट उल्लेख गरेका छन्। उक्त अडियो सार्वजनिक भएपछि विवादमा तानिएका वरिष्ठ सई जबरालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको छ ।

‘सत्य लुकाउन टर्चर’को आशंका

डीआईजी थपलियाको कार्यकक्षमै प्रहरी जवानले आत्महानी गर्ने प्रयास गर्नुले प्रदेश प्रहरी नेतृत्वमाथि नैतिक प्रश्न खडा गरेको छ। छानबिनको दायरामा रहेका जवानलाई सत्यतथ्य बुझ्नुको साटो ‘निलम्बित सई जबरालाई बोलाऊ’ भन्दै दबाब दिनुले प्रहरी अनुसन्धान प्रक्रियामै त्रुटि रहेको संकेत गर्छ । ‘ममाथि अमानवीय व्यवहार भयो, डीआईजी साबकै अगाडि यस्तो भयो,’ यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रहरी संगठनभित्रै उच्च अधिकारीको नाम मुछिएर आर्थिक लेनदेनको अडियो सार्वजनिक हुनु र सोही प्रकरणको छानबिनका क्रममा जवानले अमानवीय व्यवहारको गुनासो गर्दै आत्महानीको प्रयास गर्नुले मधेस प्रदेशको प्रहरी प्रशासन गम्भीर संकटमा फसेको प्रस्ट हुन्छ ।

यता, प्रदेश प्रहरी कार्यालयले भने घटनाको सम्बन्धमा औपचारिक प्रतिक्रिया दिएको छैन । सार्वजनिक भएको अडियो र त्यसपछि भएको यो घटनाले डीआईजी थपलियाको भूमिकामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।


सम्बन्धित समाचार