Logo

१० वैशाख, वीरगञ्ज । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ मा १४ वर्षीया किशोरीलाई सात दिनसम्म बन्धक बनाएर गरिएको पाशविक बलात्कार र यातनाको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ । आर्थिक प्रलोभनमा पारेर अपहरण गरी सुरुमा औरहा र पछि जनकपुर पुर्‍याएर गरिएको यो अमानवीय अपराधको घटना बाहिरिएपछि धनुषा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र परिवारजनको जाहेरीअनुसार, घटनाको सूत्रपात स्थानीय खुसबु देवीमार्फत भएको देखिएको छ । ती किशोरीलाई खुसबुले आर्थिक प्रलोभन देखाई घरबाट फकाएर बाहिर बोलाएकी थिइन् । खेतमा पुर्‍याएपछि किशोरीलाई मुख्य आरोपित जयराम महतो (उदय) को जिम्मा लगाइएको थियो ।

अपहरणपश्चात् आरोपित महतोले किशोरीलाई क्षीरेश्वरनाथ–९, औरहास्थित आफ्नै भिनाजुको घरमा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । बालिकाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि पनि आरोपितले उनलाई उपचार गराउनुको साटो जनकपुरधामस्थित पीडारीमा ल्याएर थप तीन दिन बन्धक बनाई क्रुर यातना दिएको प्रहरीको भनाइ छ । पीडित किशोरीले आफूलाई निरन्तर नशालु पदार्थ खुवाएर अचेत अवस्थामा राखिएको र सोही अवधिमा बलात्कार गरिएको बयान दिएकी छिन् ।

जनकपुरमा बन्धक बनाइएको अवस्थामा घरबेटीले शङ्कास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले किशोरीलाई अचेत अवस्थामा उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले घटनाको भयावहताको पुष्टि गर्दै भने, “बालिकालाई उद्धार गर्दा उनी बोल्न सक्ने अवस्थामा थिइनन् । उनको यौनाङ्गमा गम्भीर चोट लागेको र कैयौँ टाँका लगाउनुपरेको चिकित्सकको रिपोर्टले देखाएको छ ।”

प्रवक्ता बमका अनुसार प्रहरीले हाल मुख्य आरोपित जयराम महतोलाई नियन्त्रणमा लिई बयान सुरु गरेको छ । त्यस्तै, किशोरीलाई फकाएर अपहरणको मार्ग प्रशस्त गर्ने खुसबु देवीको भूमिकामाथि पनि गम्भीर छानबिन भइरहेको छ ।

हाल अस्पतालमा उपचाररत किशोरी अझै पनि बोल्न सक्ने अवस्थामा छैनन् । विभिन्न नशालु पदार्थको सेवन र यौन हिंसाका कारण उनको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ। किशोरीको नाजुक अवस्थाले परिवार र स्थानीयवासीलाई थप मर्माहत बनाएको छ ।

दलित समुदायकी किशोरीमाथि भएको यस प्रकारको क्रुर हिंसाले स्थानीयस्तरमा आक्रोश बढाएको छ। अधिकारकर्मीहरूले यो घटनालाई ‘मानवता विरुद्धको अपराध’ भन्दै दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले यो घटनालाई ‘गम्भीर अपराध’को सूचीमा राखेर अनुसन्धान प्रक्रिया तीव्र पारिएको र कुनै पनि हालतमा दोषीले उन्मुक्ति नपाउने प्रतिबद्धता जनाएको छ । हाल घटनास्थलको थप प्रमाण संकलन र अन्य सम्भावित संलग्नताका विषयमा अनुसन्धान जारी छ ।


सम्बन्धित समाचार
भर्खरै