११ वैशाख,काठमाडौं । भारतको पश्चिम बंगालमा पहिलो चरणको मतदान सम्पन्न भएको छ। मतदानपछि भारतीय केन्द्रीय गृहमन्त्री तथा भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अमित शाहले आफ्नो पार्टीले ठूलो सफलता हासिल गर्ने दाबी गरेका छन्।
शाहले पहिलो चरणमा मतदान सम्पन्न भएका १५२ सिटमध्ये बीजेपीले ११० सिट जित्ने विश्वास व्यक्त गरेका हुन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हामीसँग आएको संकेतअनुसार बंगालका जनताले आफ्नो भविष्य पहिलो चरणमै तय गरिसकेका छन्। भारी मतदानले देखाउँछ कि अब परिवर्तन हुँदैछ।”
उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई लक्षित गर्दै ‘दिदी’ भन्दै टिप्पणी गरेका थिए। शाहका अनुसार, अब राज्यमा नयाँ नेतृत्व आउने समय भएको छ।
“दिदी जानेवाला छन्, बीजेपी आउनेवाला छ। भय जानेवाला छ र भरोसा आउनेवाला छ,” शाहले भने।
उनले आगामी मुख्यमन्त्री बंगालमै जन्मिएका, बंगाली मिडियममा पढेका र बंगाली बोल्ने व्यक्ति हुने दाबीसमेत गरे।
शाहले थप भने, “अबको नेतृत्व ममता बनर्जीको परिवार वा ‘भतिजा’ होइन, भारतीय जनता पार्टीको कार्यकर्ता हुनेछ।”


















