Logo

१२ वैशाख,काठमाडौं ।अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आफ्नो युद्धपोतले इरानको झन्डावाला एउटा जहाजलाई रोकेको जनाएको छ। उक्त जहाज इरानी बन्दरगाहतर्फ गइरहेको बताइएको छ।

सेन्टकमले शुक्रबार (अप्रिल २४) एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ कि गाइडेड मिसाइल डिस्ट्रोयर यूएसएस राफेल पेराल्टाले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको इरानी झन्डाधारी जहाजलाई रोकेको हो। विज्ञप्तिसँगै सेन्टकमले सम्बन्धित तस्बिर पनि सार्वजनिक गरेको छ।

यसअघि सेन्टकमले अर्को विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाहमा अमेरिकाले लागू गरेको नाकाबन्दीका क्रममा हालसम्म ३४ वटा जहाजलाई मार्ग परिवर्तन (डाइभर्ट) गरिएको दाबी गरेको थियो।

इरान र अमेरिकाबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमाथि नाकाबन्दी घोषणा गरेको बताइएको छ।

यस कदमको इरानले कडा विरोध गरेको छ र यसलाई युद्धविरामको उल्लंघन भनेको छ। त्यसपछि इरानले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय पनि गरेको उल्लेख छ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची नेतृत्वको प्रतिनिधिमण्डल शनिबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको आगमनको पुष्टि गरेको हो।

विज्ञप्तिअनुसार इरानी विदेशमन्त्रीले पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दार, फिल्ड मार्शल असीम मुनिर लगायत उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ।

भेटवार्तामा मध्यपूर्वको पछिल्लो अवस्था, क्षेत्रीय शान्ति र स्थिरतासम्बन्धी प्रयासहरूबारे छलफल हुने जनाइएको छ। यद्यपि इरान र अमेरिकाबीच कुनै औपचारिक वार्ताको योजना नभएको दुवै पक्षले स्पष्ट पारेका छन्।


सम्बन्धित समाचार