Logo

१३ बैशाख, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिक बनिसकेका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताब (लाइसेन्स) बाट हटाएको छ । नागरिकता त्यागिसकेका व्यक्तिले नेपाली चिकित्सकका रूपमा निरन्तरता पाउन नसक्ने भन्दै काउन्सिलले कानुनी प्रावधानबमोजिम लाइसेन्स खारेज गरेको हो ।

काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार, अस्ट्रेलिया, अमेरिका, बेलायत, पोर्चुगल, क्यानडा, हङकङ र भारतलगायतका देशको नागरिकता लिइसकेका १७ जना चिकित्सकको दर्ता खारेज गरिएको हो । काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन, २०६३ लाई आधार मान्दै पूर्ण बैठकको निर्णयबाट यो कदम चालेको जनाएको छ ।

“नेपाली नागरिकता परित्याग गरिसकेपछि सम्बन्धित व्यक्ति नेपाली चिकित्सकको सूचीमा रहन प्राविधिक र कानुनी रूपमा मिल्दैन,” रजिस्ट्रार डा. देवले भने, “प्रचलित कानुनको परिपालना गर्दै हामीले आफ्नो दर्ता किताब अद्यावधिक गरेका हौँ।”

काउन्सिलको यो निर्णयप्रति नेपाल चिकित्सक सङ्घले भने कडा असन्तुष्टि जनाएको छ। सङ्घका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले काउन्सिलको निर्णय अव्यावहारिक र सरकारको नीतिविपरीत रहेको टिप्पणी गरे।

“राज्यले एकातर्फ ‘एक पटकको नेपाली सधैँ नेपाली’ भन्दै गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपालसँग जोड्न खोजिरहेको छ, अर्कातर्फ काउन्सिलले यस्तो कठोर निर्णय लिनुले नीतिगत अन्योल सिर्जना गरेको छ,” डा. कार्कीले भने, “विदेशमा रहेका नेपाली मूलका चिकित्सकहरू हाम्रो अमूल्य स्रोत हुन्। हजारौँ चिकित्सक विदेशमा रहेका बेला १७ जनाको लाइसेन्स यसरी खारेज गरिनु उपयुक्त होइन।”

चिकित्सकहरूको लाइसेन्स खारेजीको यो प्रकरणले नेपालको चिकित्सा क्षेत्रमा ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) र गैरआवासीय नेपालीहरूको भूमिकाबारे पुनः बहस सिर्जना गरेको छ। काउन्सिलले यसलाई विशुद्ध कानुनी प्रक्रियाका रूपमा लिएको छ भने चिकित्सक संघले यसलाई राष्ट्रिय नीति र व्यावहारिक पक्षसँग जोडेर हेर्नुपर्नेमा जोड दिएको छ।


सम्बन्धित समाचार