Logo

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सहमतिको प्रयास तीव्र पारेको छ ।

दलको नेता चयनका लागि देखिएको अन्योल चिर्न सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाईलीका अनुसार उक्त बैठकमा सभापति गगन थापाले दलको नेताका लागि सहमतिको नाम प्रस्ताव गर्ने तयारी गर्नुभएको छ ।

कार्यसम्पादन समितिले नाममा सहमति जुटाएलगत्तै दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्ने गरी गृहकार्य अगाडि बढाइएको छ ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले आकांक्षा देखाए पनि पछिल्लो समय समीकरणमा फेरबदल आएको छ । नेता केसीले आफू निर्वाचनको प्रतिस्पर्धामा नउत्रने र सहमतिका लागि बाटो प्रशस्त गर्ने संकेत दिएपछि अब आङ्देम्बे र आचार्यमध्ये एक जनाको नाममा सहमति हुने सम्भावना बढेको छ ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको सहमति समितिले आकांक्षीहरूसँग गरेको छलफलको निष्कर्ष सभापति थापालाई बुझाइसकेको छ, जसका आधारमा सभापतिले साझा नाम तय गर्नुहुनेछ ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नेताहरूले फरक–फरक मापदण्डमा जोड दिएका छन्। सभापति थापा प्रत्यक्ष निर्वाचित मोहन आचार्यको पक्षमा सकारात्मक देखिए पनि उपसभापति शर्मा भने सबै पक्षलाई समेट्न भीष्मराज आङ्देम्बेलाई अगाडि सार्नुपर्ने पक्षमा हुनुहुन्छ ।

यता नेता डा. शेखर कोइरालाले पनि सिट संख्या खुम्चिएको अवस्थामा दलको नेता चयनमा ढिलाइ गर्दा नकारात्मक सन्देश जाने भन्दै वरिष्ठता र सहमतिका आधारमा छिटो निर्णय लिन सभापतिलाई सुझाव दिनुभएको छ । सोमबारको बैठकले गर्ने निर्णयले कांग्रेसको आगामी संसदीय भूमिका र आन्तरिक एकताको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार