Logo

१४ वैशाख,सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ। स्थानीयसँगको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको विषयमा छानबिन गर्न उनलाई बाहिनी बोलाइएको हो।

सशस्त्र प्रहरी प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच विवाद भएको थियो।

विवादका क्रममा डीएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले स्थानीयलाई ‘तस्कर’ भनेको सुनिन्छ। त्यसको प्रतिवाद गर्दै स्थानीयले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोगबारे प्रश्न उठाएका छन्।

घटनापछि स्थानीयहरूले सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाएका थिए। निरीक्षणपछि उनले सबै स्थानीयलाई तस्करको संज्ञा दिनु अनुचित भएको टिप्पणी गर्दै घटनाबारे निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

स्थानीयवासीहरूले प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्। यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२ मुख्यालयमा तानिएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार