१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र आन्तरिक एकता र सहमतिको सन्देश दिने गरी भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने ऐतिहासिक निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद एवं पूर्वसहमहामन्त्री आङ्देम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलोपटक कांग्रेसले निर्वाचन नगरी सर्वसम्मतिबाट दलको नेता प्राप्त गर्ने निश्चित भएको छ । कार्यसम्पादन समितिले गरेको यो निर्णयलाई केही बेरमा बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी मिलाइएको छ ।
संसदीय दलको नेताका लागि सुरुमा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि बलियो दाबी प्रस्तुत गरे तापनि पछिल्लो समय पार्टीका विभिन्न पक्षहरूबीच आङ्देम्बेको नाममा सहमति जुटेको हो । विशेषगरी उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न आङ्देम्बेको विकल्प नभएको धारणा राख्दै आएका थिए ।
पार्टीका प्रभावशाली नेताहरू शेरबहादुर देउवा र डा। शेखर कोइराला पक्षको समेत समर्थन प्राप्त भएकाले ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेको पकड मजबुत देखिएको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री बनेका आङ्देम्बेले पछिल्लो समय आफूलाई कुनै समूह विशेषको घेरामा नराख्न आग्रह गर्दै आउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सभापति गगन थापाको भावना र ‘स्पिरिट’ अनुसार काम गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिसक्नुभएको छ ।
यसरी सबै पक्षलाई मिलाएर अघि बढ्न सक्ने छविका कारण उहाँको चयनले कांग्रेसभित्र लामो समयदेखि कायम रहेको समूहगत विवादलाई मत्थर पार्ने र संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

















