Logo

१४ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुलुकको विद्यमान राजनीतिक अवस्था र संवैधानिक व्यवस्थाका जटिलताहरूलाई सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले संविधानका विभिन्न पक्षहरूको अध्ययन र संशोधनका एजेन्डाहरू तय गर्न एक विशेष कार्यदल गठन गरेको हो । पार्टीभित्रको आन्तरिक तयारी र राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकालाई मध्यनजर गर्दै नेकपाले यो महत्वपूर्ण कदम चालेको हो ।

बैठकले गठन गरेको ११ सदस्यीय कार्यदलमा अनुभवी नेता र कानुनविदहरूलाई समेटिएको छ । कार्यदलका सदस्यहरूमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहनुभएको छ । यस कार्यदललाई संविधानमा देखिएका अस्पष्टताहरू र परिमार्जन गर्नुपर्ने बुँदाहरू पहिचान गरी विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

मुलुकमा व्यवस्था परिवर्तन र राजनीतिक स्थिरताका लागि संविधान संशोधनको बहस चर्किएको बेला नेकपाले बनाएको यो कार्यदललाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । संयोजन समितिको यो निर्णयले आगामी दिनमा नेकपाले संसद् र सडक दुवै माध्यमबाट संविधान परिमार्जनका पक्षमा आफ्नो आधिकारिक धारणा र दबाब सिर्जना गर्ने संकेत दिएको छ । कार्यदलले दिने सुझावका आधारमा पार्टीले आफ्नो भावी राजनीतिक कार्यदिशा र सत्ता समीकरणमा समेत स्पष्ट अडान लिने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार