Logo

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ समीकरणको सङ्केत गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धुम्बाराहीस्थित स्मार्ट होटलमा महत्त्वपूर्ण भेला आयोजना गरेको छ ।

मङ्गलबार दिउँसो सुरु भएको यस भेलालाई पार्टीको आगामी रणनीतिक मोड र शक्ति सन्तुलनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा भएको यो जमघटमा संस्थापन पक्षका पुराना नेताहरू मात्र नभई कोइराला परिवारका सदस्य र अन्य प्रभावशाली नेताहरूको समेत उपस्थिति देखिएको छ ।

भेलाले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको चयन र सभापति गगनकुमार थापाले एकताका लागि गरेको आह्वानपछिको विकसित परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस धारणा बनाउने अपेक्षा गरिएको छ ।

यस भेलाको सबैभन्दा रोचक पक्ष भनेको नेता कृष्णप्रसाद सिटौला र कोइराला परिवारका प्रभावशाली सदस्यहरूको सहभागिता हो। राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रहेका सिटौलासँगै नेत्री सुजाता कोइराला र डा। शशांक कोइरालाको उपस्थिति हुनुले पार्टीभित्रको गुटगत रेखामा केही फेरबदल हुन सक्ने सङ्केत गरेको छ ।

भेलामा पूर्वउपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र उमाकान्त चौधरीलगायतका शीर्ष नेताहरू सहभागी छन् । नेता विमलेन्द्र निधिका अनुसार पार्टीका पछिल्ला गतिविधि र आगामी दिनमा लिइने रणनीतिका विषयमा विस्तृत छलफल गर्न यो बैठक बोलाइएको हो ।

विशेष गरी सोमबार मात्रै कांग्रेस संसदीय दलको नेतामा चयन भएका भीष्मराज आङ्देम्बेलाई देउवा पक्षले पनि समर्थन गरेको सन्दर्भमा यो भेलाले आगामी दिनमा संस्थापन पक्षलाई कसरी एकीकृत र बलियो बनाउने भन्नेमा केन्द्रित रहने देखिएको छ ।

कांग्रेसभित्र आन्तरिक एकताको बहस चलिरहेका बेला धुम्बाराहीमा जम्मा भएका यी नेताहरूले पार्टीको आन्तरिक कार्यदिशा र नेतृत्वको भूमिकाबारे सामूहिक दृष्टिकोण तय गर्ने कोसिस गरेका छन् । यो भेलाले कांग्रेसको आगामी राजनीतिक मार्गचित्र कोर्नुका साथै इतर समूहसँगको सम्बन्धलाई कस्तो रूप दिने भन्नेमा समेत प्रभाव पार्ने निश्चित छ ।


सम्बन्धित समाचार