१५ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक १९ वटा महत्त्वपूर्ण समसामयिक राजनीतिक प्रस्तावहरू पारित गर्दै मंगलबार सम्पन्न भएको छ ।
गत चैत १९ गतेदेखि सुरु भएको यो लामो बैठकले देशको पछिल्लो राजनीतिक अवस्था, जनजीविका, सुशासन र अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । बैठकले मुख्य गरी सामन्तवादका अवशेषहरूलाई अन्त्य गर्दै समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेको छ भने निर्वाचनमा प्राप्त जनमतका लागि मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
पार्टीले वर्तमान सरकारलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र सुशासनको दिशामा काम गर्न सुझाव दिँदै सरकारका सकारात्मक कामको समर्थन र गलत कदमको रचनात्मक प्रतिवाद गर्ने नीति लिएको छ ।
विशेष गरी पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न र सुकुम्बासीहरूलाई विकल्पबिना विस्थापित नगर्न सरकारसँग जोडदार माग गरिएको छ । यस्तै, सरकारले सुशासनका नाममा गरिरहेको धरपकड र कारबाहीलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा नेकपाले जोड दिएको छ ।
बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि गम्भीर चासो व्यक्त गरेको छ । भन्सार नाकामा सर्वसाधारणमाथि भइरहेको कठोर व्यवहार फिर्ता लिन, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाउन खोजिएको बन्देज हटाउन र सिन्धुलीको हिरासतमा भएको कृष्ण विश्वकर्माको मृत्युबारे उच्चस्तरीय छानबिन गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा इरानमाथि भएको आक्रमणको विरोध गर्दै नेकपाले युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अन्त्यमा, शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि समेत बैठकले विशेष आह्वान गरेको छ ।



















