Logo

१६ वैशाख,काठमाडौं । हर्मुज जलडमरूमध्यमा बढ्दो सैन्य तनावका बीच रुसी अर्बपति एलेक्सी मोर्दाशोभसँग जोडिएको विलासी ‘नोर्ड’ सुपरयाट सफलतापूर्वक उक्त क्षेत्र पार गरेको छ।

इरानले जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाइरहेको र संयुक्त राज्य अमेरिकाले निगरानी बढाइरहेको अवस्थामा करिब ५०० मिलियन डलर मूल्यको १४२ मिटर लामो यो जहाज दुबईबाट प्रस्थान गरी ओमानको राजधानी मस्कटस्थित अल मौज मारिना पुगेको हो।

जहाज ट्रयाकिङ प्लेटफर्मका अनुसार उक्त सुपरयाट इरानको सहमतिमा सञ्चालन हुने नियमित मार्ग हुँदै यात्रा गरेको देखिएको छ। अत्याधुनिक सुविधायुक्त ‘नोर्ड’ मा दुई हेलिप्याड, स्विमिङ पुल र पनडुब्बीसमेत रहेका छन्।

यद्यपि, जहाज आधिकारिक रूपमा मोर्दाशोभको नाममा दर्ता नभई उनकी श्रीमतीको स्वामित्वमा रहेको कम्पनीमार्फत दर्ता गरिएको बताइएको छ, जसलाई पश्चिमी प्रतिबन्धबाट जोगिने रणनीतिको रूपमा हेरिएको छ।

पछिल्ला महिनाहरूमा इरानले हर्मुज क्षेत्रमा कडा प्रतिबन्ध लागू गर्दै कुनै पनि जहाजले आफ्नो अनुमति लिनुपर्ने चेतावनी दिँदै आएको छ। यस्तो अवस्थामा रुसी अर्बपतिको जहाज निर्वाध रूपमा पार हुनु इरान–रुसबीचको रणनीतिक समन्वयको संकेतका रूपमा हेरिएको छ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। भेटमा पुटिनले अमेरिकी र इजरायली दबाबविरुद्ध इरानी जनताको प्रतिरोधको प्रशंसा गरेका थिए।

मोर्दाशोभ सेभर्सटलका मालिक हुन् र उनीमाथि सन् २०२२ मा रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरूले कडा प्रतिबन्ध लगाएका थिए। यसअघि उनको अर्को याट ‘लेडी एम’ इटालीमा जफत गरिएको थियो।

हाल हर्मुज क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यसमेत उकालो लागेको छ। विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०९ डलर पुगेको छ।

यो घटनाले विश्व राजनीतिमा अमेरिका र उसका सहयोगीहरू एकातर्फ तथा रुस र इरान अर्कोतर्फ ध्रुवीकरण तीव्र बन्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार